भक्तपुरमा अपहरणपछि बालकको हत्या

२१ श्रावण २०७५, सोमबार २०:४८

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए, अपहरणपछि बालकको पनि हत्या

भक्तपुरमा एक बालकको अपहरणपछि हत्या भएको छ। आइतबार साँझ अपहरणमा परेका ११ वर्षिय निशान खड्काको हत्या भएको हो।

सोमबार प्रहरीले भक्तपुर ठिमीको एक निर्माणाधीन घरमा खड्काको शव फेला पारेको हो । प्रहरीले अपहरणपछि उनको हत्या भएको जनाएको छ । खड्का काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्थे।

निशान आइतबार साँझ साढे छ बजेपछि सम्पर्कबिहीन भएका थिए। प्रहरीका अनुसार केहीबेरमा उनको खोजतलास सुरू भएको थियो। राती साढे ९ बजे अपहरणकारीले निशानकी आमा चमेलीलाई फोन गरी ४० लाख फिरौती मागेका थिए। निशानका बुवा गणेशबहादुर रोजगारीको शिलशिलामा विदेशमा छन्।

महानगरीय अपराध महाशाखाको प्रहरी टोली हिजो रातिदेखि नै निशानको खोजीमा खटेको थियो।

सोमबार बिहान साढे १२ बजे भक्तपुरको ठिमी-९ मा एक निर्माणाधीन घरमा निशानको शव भेटिएको प्रहरीले जनाएको छ। बालकको हत्या गरी अपहरणकारी पाइलट बाबा जंगलतर्फ गएको सूचना प्रहरीलाई आयो।

महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार प्रहरीले खोज्दै जाँदा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाही गर्‍यो। प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटका २२ वर्षिय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङ छन्।

घटनास्थलबाट प्रहरी एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड बरामद गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

साभार : #Calvin Manandhar

तपाईको प्रतिक्रिया